अब खुला रूपमा बग्नेछ कपनकाे खहरे, महानगरले चलाइछाड्याे डाेजर

अब खुला रूपमा बग्नेछ कपनकाे खहरे, महानगरले चलाइछाड्याे डाेजर

सराेकारवालाबीच ३ बुँदे सहमति


काठमाडाैँ ।

ढलान स्लाबमुनिबाट बगिरहेकाे कपनकाे खहरे खाेला अब खुला रूपमा बग्न पाउने भएकाे छ ।

काठमाडौँ महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेपछि यसले खाेलाकै अस्तित्व पाउने भएकाे हाे ।

काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएसँगै महानगरले खहरे खोला खोल्न डोजर चलाएको हो ।

काठमाडौँ महानगर- ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न दुइटा डोजर प्रयोग भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

महानगरले हिजो बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो । बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरले डोजर फर्काएको थियो ।

आज २ पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खोला खोल्ने सहमति भएपछि डोजर चलाइएको हो ।

सहमतिअनुसार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ साथै काठमाडौँ महानगरपालिका- ६ र ७ को सीमा यकिन गरी नापनक्सा गरिने भएकाे छ । चाबहिलको नापी कार्यालयमा सम्बन्धित वडाध्यक्षसहितका सरोकारवालाहरूबीच ३ बुँदे सहमति भएकाे हाे ।

अब बूढानीलकण्ठ-१० र १२ का अध्यक्षबीच धोबी खोलादेखि साततलेसम्म खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ । काठमाडौँ-६ र ७ का अध्यक्षबीच सीमा कायम गरी सोको नापनक्सा तयार पार्ने सहमति पनि भएको छ।

यसैबीच धोबीखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो लगायत क्षेत्र जस्ताको तस्तै राख्ने वा आवश्यकताअनुसार आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने सम्बन्धमा पनि सहमति भएको छ ।