निहुराे टिप्न जाँदा खाेलाले बगाएका बाबुछाेरामध्ये छाेराकाे शव भेटियाे

निहुराे टिप्न जाँदा खाेलाले बगाएका बाबुछाेरामध्ये छाेराकाे शव भेटियाे


दोलखा ।

अविरल वर्षाका कारण आइतबार दिउँसो आएको बाढीले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ ।

आइतबार बिहान घरबाट झन्डै १ घन्टाको पैदल दुरीमा रहेको तीनपाटेमा निहुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए ।

आइतबार १२ बजेतिर तीनपाटेमा निहुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलाले बगाएपछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए ।

सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो । अविरल वर्षा जारी रहेकाले खोजी कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगलबार तामाकोसी नदीमा तितेमाछा टिप्न गएका बिगु –२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले पुरिँदा ज्यान गएको थियो ।

त्यस्तै गत बिहीबार गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ छ ।