‘ब्रेक सु’ भित्रको सुन गालिँदै

‘ब्रेक सु’ भित्रको सुन गालिँदै


काठमाडौं ।

मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिदैं छ ।

बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।