कक्षा १२ काे रिजल्ट आयाे, कसरी हेर्ने ?

कक्षा १२ काे रिजल्ट आयाे, कसरी हेर्ने ?


काठमाडौँ ।

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षाकाे नतिजा प्रकाशित गरेको हो ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

परीक्षा सम्पन्न भएको ८० दिनमा नतिजा प्रकाशित भएको हो । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिन्छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ। त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिनेछ ।