सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् ।

काठमाडौंमा मंगलबार सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै उनले श्रम गर्न नसकेको अवस्थामा श्रमिकहरूलाई रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन् ।

उनले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाए ।

नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज तथा समाजवादोन्मुख राजनीतिक तथा आर्थिक प्रणाली स्थापनाका लागि श्रमिकको सामाजिक सुरक्षासहितको अधिकारको प्रत्याभूति अनिवार्य शर्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा सामान्य अवधारणामात्रै नभएर यसले नागरिकले बिनाभेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताए ।

औपचारिक क्षेत्रका सबै श्रमिकलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागितालगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले कोषको क्षमता अभिवृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकलाई चरणबद्धरूपमा कोषमा आबद्ध गराउने कार्य सुरु गरिने र अनौपचारिक क्षेत्रका श्रमिकका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको प्रतिबद्धता व्यक्त गरे ।