लुम्बिनी-भियतनाम सीधा उडानको पहल गर्छु : राजदुत हाई

लुम्बिनी-भियतनाम सीधा उडानको पहल गर्छु : राजदुत हाई


काठमाडौं।

नेपाल हेर्ने भियतनामी राजदूत न्गुयेन थान हाईले लुम्बिनी-भियतनाम सीधा उडानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल-भियतनाम चेम्बर अफ कमर्सले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाईको स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भियतनामीहरू नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै २ देशले पर्यटन प्रवद्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रूपमा भ्रमण आदानप्रदान हुँदै आएको छ । आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक छ ।’

भियतनामका लागि कन्सुलरसमेत रहेका नेपाली व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्धनका लागि लुम्बिनी–भियतनाम सीधा उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।

‘दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक छ,’ उनले भने ।

भारतसँग भियतनामको सीधा हवाई यातायात सेवा स्थापना भएपछि भारत र भियतनामको व्यापार र पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको भन्दै नेपालमा पनि सीधा हवाई सेवा सुरु गर्नु पर्ने व्यवसायीहरूको भनाइ छ ।

कार्यक्रममा नेपाल-भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मलहोत्राले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत विषयमा द्विदेशीय सम्बन्ध विस्तार हुनुपर्ने बताए ।