खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स, सबैभन्दा धेरै चिनियाँ कम्पनी

खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स, सबैभन्दा धेरै चिनियाँ कम्पनी


काठमाडौं ।

खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुंगा ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । गत वर्षसम्म ३७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए ।

यस्तै, विभागले हालसम्म १५८ कम्पनीलाई खानी उत्खनन्का लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म १४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९/८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो ।

खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् ।

विभागले आव २०७९÷८० मा समयमा खानी खोजतलास तथा उत्खननको क्षेत्रमा काम नगर्ने एक सय २१ कम्पनीको अनुमतिपत्र रद्द गरेको छ । धौवादी फलाम उत्खननका लागि विभागले नवलपरासीमा अनुमति प्रदान गरेको छ ।

यसअघि उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुंगा खानी तथा भूगर्भ विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुंगा हो । यसबाहेक अन्य सिमेन्ट उद्योगलाई आवश्यक पर्ने चुनढुंगासमेत विभागले उत्खनन गरेर प्रदान गर्दै आएको छ ।