नगर प्रमुखको जिम्मेवारी वडाअध्यक्षलाई दिएपछि शिवसताक्षीमा हंगामा, उपमेयर भन्छिन्- ‘मलाई थाहा छैन’ 

नगर प्रमुखको जिम्मेवारी वडाअध्यक्षलाई दिएपछि शिवसताक्षीमा हंगामा, उपमेयर भन्छिन्- ‘मलाई थाहा छैन’ 


झापा ।

शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्वेवारी दिएका हुन् ।

उनले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै ७ दिनसम्मका लागि नगर प्रमुखको जिम्मेवारी सुम्पिएका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर उपप्रमुख नरमाया कार्कीसमेत चकित बनेकी छिन् ।

‘ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष ७ दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेछ छ,’– उपप्रमुख कार्कीले भनिन् ‘म हुँदाहुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्ष ज्यूलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु।’

शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित ‘जाइका’ नामक कृषि परियोजना सञ्चालनमा छ। सोही क्रममा जापानको कृषि प्रणाली अवलोकनका लागि नगर प्रमुख थोप्रा जापान जाने भएपछि नगरको कार्यवाहक जिम्वेवारी वडाध्यक्ष प्रसाईंलाई दिइएको हो।

साउन ३१ गतेदेखि लागू हुने गरी भदौ ५ गतेसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर प्रमुख थोप्रा कार्यलयमा अनुपस्थित हुनुहुन्छ। तर, नगरप्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँगै शिवसताक्षी नगरपालिकामा खैलाबैला मच्चिएको छ।

नगर प्रमुख थोप्राले प्रसाईंलाई कार्यवाहक दिएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, मालपोत कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक, नापी कार्यालय भद्रपुर–दमक, जनताको तटबन्धन कार्यालय गैडेलाई दिइएको छ।

यसबारे उपप्रमुख कार्कीले अनभिज्ञता प्रकट गरिन् । ‘नगरप्रमुखज्यूले त्यसो नगर्नुभएको भए हुन्थ्यो। म उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कुन आधारले उहाँले जिम्वेवारी दिनुभयो त्यो त म जान्दिनँ। अहिले यसको उत्तर दिँदादिँदा थाकिसकेँ,’ उनले भनिन्, ‘हामीबीच हालसम्म कार्यसम्पादनमा कुनै विवाद र समस्या छैन। तर उहाँले किन त्यसो गर्नुभयो मैले सोधेकी छैन।’

शिवसताक्षी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद नेकपा एमालेले जितेको हो। तर, प्रमुख र उपप्रमुखबीच के कुरामा बेमेल भयो सो भने खुल्न नसकेको स्थानीयले बताउँदै आएका छन्। उनीहरुबीचको बेमेलका कारण उपप्रमुखलाई जिम्मेवारी नदिई वडाध्यक्षलाई दिनुले नगरप्रमुख र उपप्रमुखबीचको बेमेल छताछुल्ल भएको स्थानीयको भनाइ छ।

यता नगरप्रमुख थोप्राले आफू केही समयका लागि मात्रै बाहिर रहने भएकाले वडाध्यक्षलाई जिम्मेवारी दिएको बताएका छन्। ‘नियमअनुसार मिल्दैनथ्यो,’ नगर प्रमुख थोप्राले भने ‘बीचमा केही समस्या भए म फोनबाट भए पनि ‘विथड्र’ गर्छु।’