हुलाकी राजमार्गमा पुल विस्तार गरिने

हुलाकी राजमार्गमा पुल विस्तार गरिने


काठमाडौँ ।

हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ ।

३ ४ दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो ।

पहिलेको १ लेन पुल रहेकामा अहिले २ लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजना अन्तर्गत २५/३० देखि कतिपय ठाउँमा ४० वर्ष पुराना पुल रहेकाले ती ठाउँमा नयाँ पुल बनाउनुपर्ने आयोजना प्रमुख चुडाराज ढकालले बताए । उनले भने, “त्यतिबेला थोरै गाडी चल्दाका पुल अहिले पर्याप्त छैन ।”

पुलहरुलाई ९ मिटर चौडाइमा विस्तार गरिने उनले बताए । ७ मिटर गाडी गुड्ने र त्यससँगै २ मिटर गरी ९ मिटर चौडाइका पुल निर्माण गर्न लागिएको हो ।

सडकको विस्तार भएकाले सडक जत्तिकै चौडाइमा पुल बनाउनुपर्ने उनको भनाइ छ ।

पुल साँघुरा हुँदा समस्या भएकाले अहिले नयाँ बनाउनु आवश्यक रहेको प्रमुख ढकालले बताए । पुराना सडक रहेको स्थानमा पुल बनाउनुपर्ने बढी आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “नेपालगञ्ज–गुलरिया खण्डमा ५ जति पुलमा यो अवस्था रहेको छ ।”

आयोजनाअन्तर्गत केही संख्यामा रुग्ण पुलको ठेक्का पनि छ । आयोजनाले काम नै नगर्ने पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत अघि बढाउँदै आएको छ ।

हुलाकी राजमार्ग आयोजनाले आव २०६५/६६ मा निर्माण सुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्‍याइएको थियो । अहिले पुनःआव २०८३/८४ मा सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।

राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामकरण गरिएको थियो ।

उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल नेपाल सरकारले बनाउने सम्झौता भएको थियो ।

आयोजनाको डिजाइनमा जम्मा २५० पुल रहेकामा हालसम्म एक सय ३२ पुलको निर्माण सम्पन्न भएको छ । गत आवमा जम्मा ११ पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।