‘आफ्ना मान्छे जाेगाउन सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीकाे सरुवा ग‍र्‍याे’

‘आफ्ना मान्छे जाेगाउन सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीकाे सरुवा ग‍र्‍याे’


काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूकाे सरुवा गरेको आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूकाे सरुवा गरेकाे आराेप लगाए ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सिआइबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे ।

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान दोहोर्‍याए ।

‘अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ, मुर्धन्य व्यक्तिहरूतर्फ सोझिन थाल्यो । त्यसपछि सत्ता घटकलाई के पर्‍यो भने प्रहरी अधिकारीलाई सरुवा गर्नुपर्‍यो,’ उनले भने, ‘यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सिआइबी होस् वा राजस्व अनुसन्धान विभाग, यी कुनै पनि निकायले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न सकिराखेका छैनन् ।’

सचेतक बर्तौलाले एमालेले संसद् बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन उच्चस्तरीय समिति भने बन्नुपर्ने बताए ।