हेपिएकाे कर्णाली, जसले उठाउँछ लक्ष्यकाे शतप्रतिशत राजस्व

हेपिएकाे कर्णाली, जसले उठाउँछ लक्ष्यकाे शतप्रतिशत राजस्व


जुम्ला ।

सरकारले लक्ष्यअनुसारकाे राजस्व उठाउन नसकिरहेका बेला जुम्लामा भने करिब शतप्रतिशत राजस्व संकलन भएकाे छ ।

जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४७ करोडभन्दा बढी राजस्व संकलन गरेको हाे । जुन लक्ष्य रकमकाे करिब १०० प्रतिशत हाे । सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रुपैयाँ रहेकामा ४७ करोड २६ लाख रुपैयाँ संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो । ‘यस कार्यालयको राजस्व संकलनको अवस्था राम्रो छ,’ उनले भने, ‘आव २०७८/७९ को तुलनामा ७ करोड बढी राजस्व संकलन भएको छ ।’

विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो । उनका अनुसार कार्यालयको कार्य क्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता  बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगत रूपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा मात्रै साढे ४ करोड

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा ४ करोड  ५५ लाख रुपैयाँ  राजस्व संकलन गरेकाे छ । साउनमा ३ करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली ४ करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।