ठेकेदारकाे लापरबाहीले बनेन टर्मिनल भवन, गाईगोठमा उड्डयन कार्यालय !

ठेकेदारकाे लापरबाहीले बनेन टर्मिनल भवन, गाईगोठमा उड्डयन कार्यालय !

चउरमा बसेर जहाजको पर्खाइ


मुगु ।

रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अलपत्र परेको छ ।

निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण टर्मिनल भवन पशु चौपायाको गोठ बनेको छ । ताल्चा विमानस्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा जोखिमपूणर् उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ ।

रारा ताल्चा विमानस्थलको टावरसहितको टर्मिनल भवन निर्माणका लागि २०७६ साल असोज २ गते निर्माण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस इन्टरनेसनल कम्पनी काठमाडौँले ठेक्का लिएको थियो । ८ करोड ६५ लाखमा ठेक्का लागेको उक्त भवन पटक-पटक म्याद थप्दा पनि निर्माण हुन नसक्दा पछिल्लो समयमा अलपत्र परेको छ ।

आयोजना निर्माणका लागि ल्याइएका सामानमा खिया लागेको छ भने केही सामान टुटफुट भएर नष्ट भएका छन् ।

काम गर्ने कामदारहरूले काम गरेको रकम पाएका छैनन् भने लामो सयमदेखि आयोजना स्थलमा ठेकेदर कम्पनीका कुनै पनि जिम्मेवार व्यक्ति भेटिँदैनन् ।

२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको रनवे ५७० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । राज्य कोषबाट करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो ।

रारा ताल्चा एयरपोर्ट सञ्चालनका लागि पूर्वाधार नहुँदा काठको सानो घुम्तीबाट टर्मिनल भवन र नागरिक उड्डयन कार्यालय सञ्चालन हुँदै आएको छ । विमानस्थलको धावन मार्गको चौतर्फी सामान्य काँडेतार र अन्य तारको घेराबार भए पनि यात्रु र स्थानीय मानिसहरू धावन मार्गको बीचबाटै यात्रा गर्छन् । यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौ-धौ पर्ने गरेको छ ।

टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले जाँच गरेपछि यात्रुहरू कोचाकोच गरेर बस्नुपर्ने अवस्था छ । अव्यवस्थाका कारण यात्रुहरूका सामान हराउने डर निकै हुने गरेको छ ।

यात्रुहरूका लागि शौचालयको पनि उत्तिकै समस्या छ । टावरसहितको टर्मिनल भवन छिटो निर्माण गरिदिए यात्रुहरूलाई निकै सहज हुर्ने छायानाथ रारा नगरपालिका-८ का बलराम शाही बताउँछन् । अर्का यात्रु दलबहादुर रावत पनि टर्मिनल भवन चाँडै बन्नुपर्ने बताउँछन् ।

मुगु जिल्ला आफैँमा दुर्गम हिमाली जिल्ला हो । हिउँदमा हिउँ पर्ने, बर्खामा पानी पर्ने र निर्माणमा लाग्ने सामान समयमा पुर्‍याउन नसक्नु प्रमुख समस्या हुन् । त्यसमाथि निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन भवन बन्न नसकेको रारा ताल्चास्थित नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रतिनिधि शम्भुप्रसाद तिमिल्सिना बताउँछन् ।

यस्तै, नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख रोमन भट्टराईले भने, ‘सानो काठको टहराबाट कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । आकाशबाट पानी पर्दा टिन बज्ने, आवाज आउने, हावाहुरी चल्दा सुर्खेत, नेपालगन्जलगायत अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ । भवन समयमा सम्पन्न गर्ने जिम्मा लिएको ठेकेदारहरूको कमजोरीले बन्न नसक्नु दुर्भाग्य बनेको छ ।’

पर्यटकको प्रचुर सम्भावना रहेका रारा, छायानाथलगायत स्थान घुम्न जाने देशी/विदेशी पर्यटकको संख्या बढ्दो छ । यही कारण पनि यस क्षेत्रको विकासका लागि पहल भइरहेको मुगु जिल्लाका पूर्व संघीय सांसद गोपालबहादुर बल बताउँछन् ।