कालीमाटीमै छैन प्याज, मूल्य आकासियो

कालीमाटीमै छैन प्याज, मूल्य आकासियो


काठमाडौं ।

कालीमाटीमा प्याज बिक्री हुन छोडेको छ ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो ।

त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुन स्वाभाविक मूल्य हो ।

कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि निर्यात महसुल लागु गरे पनि शनिबार भन्सार बन्द भएकाले आइतबार बिहान ४० मेट्रिक टन आए पनि रातिदेखि भने नआएको समितिले जनाएको छ ।