प्राविधिक शिक्षा पढ्ने चाहना छ, कम्प्युटर एशोसियसनले ल्यायो छात्रवृत्ति, कसरी भर्ने फारम ?

प्राविधिक शिक्षा पढ्ने चाहना छ, कम्प्युटर एशोसियसनले ल्यायो छात्रवृत्ति, कसरी भर्ने फारम ?


काठमाडौं ।

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत ४ बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ’नेसनल आईसीटी स्कलरसिप २०८० को लागी आवेदन खुला गरेको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो छात्रवृति काठमाडौंको मैतीदेविमा रहि विगत २ दशकभन्दा बढि समय देखि सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । उक्त छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

नेसनल आईसीटी स्कलरसिप २०८० मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृति र बाँकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत ४ वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई छात्रवृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृति प्रदान गरिनेछ । क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस.सी.आईटी को अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछना छात्रवृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रिय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np  र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org  मार्फत २०८० साल भदौ ३१ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०८० साल असोज ७ गते हुनेछ भने २०८० साल असोज १० गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।