मजदुरबाट मालिक बनेका राजनको कथा : ६ लाखमा सुरु भएको व्यवसाय बन्यो ५ करोडको

मजदुरबाट मालिक बनेका राजनको कथा : ६ लाखमा सुरु भएको व्यवसाय बन्यो ५ करोडको


म्याग्दी ।

१८ वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी संघर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पसेका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर १ वर्षपछि बागलुङ गए । बाग्लुङको विभिन्न ‘क्याफे’मा ३ वर्ष कुक र वेटर गरेर उनी २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिए ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने ।

विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उनले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गरे ।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब ५ सय मिटर छ । २ वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको ४ आना जग्गा किनेका लामाले त्यहाँ ५ तले पक्की घर बनाएर लजको क्षमता विस्तार गरेका छन् । ७० जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उनी, श्रीमती र भाइसहित १८ जना रोजगार छन् । घरभाडामा मात्र १ लाख ५० हजार तिर्ने भान्छाघर र लजमा ५ करोडभन्दा बढीको लगानी छ । ६ लाख लगानीमा व्यवसाय सुरु भएको थियो ।

“घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ”, उद्यमी लामा भन्छन्, “केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।”

होटलमा काम गर्दागर्दै एसएलसी र प्लस २ उत्तीर्ण गरेका उनले स्नातक तहसम्मको शिक्षा हासिल गरे । उनले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइदिएका छ ।

“स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो”, उनले भने, “त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।” बिहान ६ः०० नबज्दै उठ्ने उनी राति सुत्ने बेलामा १२ः०० बज्छ ।

नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उनी आफैँ सक्रिय छन् । उनलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताए । “साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ”, उनले भने, “मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।”

मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाएका छन् । मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता रहेकोब बताइएको छ ।

लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गरेका छन् । धवलागिरि, अन्नपूर्ण, मंगला, मालिका, बेनी, रघुगंगा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिंग लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जंगलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाएका उनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारीमा छन् ।

“मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो”, उनले भने, “बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।” लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ ।