प्राथमिकतामा विजुली : ९ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन

प्राथमिकतामा विजुली : ९ वर्षमा थपियो ३१ सय सर्किट किलोमिटर प्रसारण लाइन


काठमाडौँ ।

विजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।

आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन निर्माणलाई महत्वका साथ अगाडि बढाएको जनाएको छ । कार्यान्वयन गर्ने निकायका रुपमा रहेको नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत ९ वर्षमा ३ हजार ११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको प्राधिकरणको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रसारण लाइन निर्माणलाई तीव्रगतिमा अगाडि बढाउन र त्यसमा देखिएका समस्या समाधानका लागि प्रभावकारी रुपमा क्रियाशील हुन प्राधिकरण र सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।

लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको छ ।

प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । विद्युत्गृहबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पु¥याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आवश्यक पर्दछ ।

विगत ९ वर्षमा ग्रीड सबस्टेसनको क्षमता ८ हजार ८ सय ६७ एमभिए पुगेको छ । ९ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१र७२ मा सबस्टेसनको क्षमता २ हजार १ सय ३२ एमभिए मात्र रहेकोमा आव २०७९/८० मा आइपुग्दा सबस्टेसनको क्षमता ६ हजार ७ सय ३५ एमभिए बढेको हो ।

आव २०७१/७२ मा ६६ र १ सय ३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइन सञ्चालनमा छन् । आव २०७१/७२ मा २ हजार ६ सय २४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा हाल ३ हजार ११८ सर्किट किलोमिटर थपिएर आव २०७९/८० मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ ।

आव २०७२/७३ सम्म ६६ र १ सय ३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमशस् ५ सय १४ र ३ हजार ९ सय ७९ सर्किट किलोमिटर छ ।

यसैगरी, २२० र ४ सय केभी प्रसारण लाइनको लम्बाइ क्रमशस् १ हजार १०१ र १४८ सर्किट किलोमिटर छ । आव २०७५/७६ मा सबैभन्दा बढी अर्थात ६०६ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने आव २०७४/७५ मा सबैभन्दा कम १४१ सर्किट किलोमिटर लाइन थपिएको छ । गत आवमा ४ सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समय विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न तथा पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षबाट प्रणालीका पूर्वाधार संरचनाको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा अगाडि बढाएर कार्यान्वयन लगिएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका आयोजना निर्माणमा मुख्य रुपमा स्थानीयवासीको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा समस्या रहेका र ती समस्यालाई समाधान गर्दै आयोजनाको काम भइरहेको उल्लेख गरे ।

प्राधिकरणकाअनुसार, हाल विभिन्न क्षमताका २ हजार ८ सय ५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको १ हजार १ सय ११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै २२० र ४०० केभीको क्रमशः ९ सय ८८ र ७ सय ५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । साथै, ६ हजार ७ सय ५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । यस्तै, १ सय ३२, २ सय २० र ४ सय केभीका क्रमश: १ हजार १ सय ४१, १ हजार ७ सय ५२ र ३ हजार ८ सय ५८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको हो ।

विभिन्न क्षमताका १० हजार ४ सय ६९ एमभिए क्षमताका सबस्टेसन निर्माणाधीन छन् भने १५ हजार ५ सय ६४ एमभिए क्षमताका सबस्टेसन निर्माण प्रस्ताव गरिएको छ ।