सन्दीप लामिछाने भोलि पाकिस्तान जाने

सन्दीप लामिछाने भोलि पाकिस्तान जाने


काठमाडौं

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् ।

सन्दीपको मुद्दामा आइतबार सुनुवाइ हुन नसकेपछि उनी एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान जाने भएका हुन् ।

सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो ।

उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो ।

एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।

त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ । मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यसअगावै सन्दीप काठमाडौँ फर्कने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए ।