तानाशाही भनिएका राणा शासकले यसरी बनाएका थिए सयाैँ झोलुंगे पुल

तानाशाही भनिएका राणा शासकले यसरी बनाएका थिए सयाैँ झोलुंगे पुल

सुनिल उलक
54
Shares

राणा प्रधानमन्त्री चन्द्रशमशेरले स्कटल्यान्डको एबरडिनबाट सामग्री मगाएर बनाएका धेरै पक्की झोलुंगे पुलमध्ये कास्कीबाट मुस्ताङ जाने बाटोमा पर्ने तातोपानीमा कालीगण्डकीमाथि बनाइएको पुल पनि एक हो ।

राणा प्रधानमन्त्री वीरशमशेरको समयमा नै धेरैजसो कामको निर्णय गर्ने जिम्मा पाएका त्यसबेलाको पश्चिम कमान्डिङ अफिसर चन्द्रशमशेरले १९५६ सालदेखि नै नेपालमा झोलुंगे पुल राख्ने अभियानको सुरुआत गरेका थिए ।

यी झोलुंगे पुल बनाउने अभियान केवल काठमाडौँ उपत्यकाका लागि मात्र सोचेर चलाइएको थिएन । दुर्गम दूरदराज गाउँका लागि पनि बनाइएका थिए । गुल्जार नभएका, बस्ती नभएका तर कुनै अर्को प्रमुख स्थानमा जाने बाटोमा परेका खोलानालामा तथा दुर्गम स्थलका गाउँहरूमा पनि झोलुंगे पुल बनाइएका थिए ।

झोलुंगे पुलका लागि आवश्यक फलामे सामानहरू युरोपको पश्चिम छेउमा रहेको स्कटल्यान्डको उत्तरी सहर एबरडिनबाट ल्याइएको थियो । सुरुका केही वर्ष लुइस हार्पर कम्पनीबाट सामग्री ल्याउन थालिए पनि पछि सो कम्पनी बन्द भएपछि भने जोन एम हेन्डरसन कम्पनीबाट सामग्रीहरू मगाइएको थियो ।

जोन एम हेन्डरसन कम्पनी, एबरडिन, स्कटल्यान्डमा रहेको पुल तथा अन्य कामका लागि आवश्यक फलामका लट्ठा तथा केबलहरू तयार बनाउने कम्पनी थियो । सन् १८६६ मा स्थापना भएको सो कम्पनीले सुरुमा विभिन्न निर्माण सामग्री तयार गर्‍यो । पछि सन् १८८० बाट भने फलामे पुलका सामग्रीहरू तयार गर्न थालको थियो । सन् १९२७ बाट भने यो कम्पनीले पानीजहाज कारखाना पनि सुरु गर्‍यो ।

नेपालका ठुला तथा साना नदीहरूमा बाँसका पुल हिउँदमा काम लाग्थे । बर्खाको भेलले बगाएर लग्थ्यो । यसरी अस्थायी बाँसे पुलहरूले बर्खामा ठुलो समस्या सिर्जना गर्थ्याे । जसले गर्दा युरोपबाट नै बलिया फलामे सामग्रीहरू मगाएर नेपालमा झोलुंगे पुल निर्माणको थालनी भएको हो । यसरी सुरुको हार्पर एन्ड कम्पनीले केवल ७ वटा झोलुंगे पुल मात्र बनाएको थियो भने जोन एम हेन्डरसन कम्पनीले सयभन्दा बढी झोलुंगे पुल बनाएको थियो ।

पहिलो नमुना पुलका रूपमा हेन्डरसन कम्पनीले १९६४ मा सिन्धुली र रामेछापको बीचमा सुनकोसी नदीमाथि पुल बनाएको थियो । खुर्कोटमा बनाएको पुलले निकै वर्ष सेवा दियो । यो पुल २०४२ सालको साउनमा सुनकोसी नदीमा आएको बाढीले बगाएर लग्यो ।

चन्द्रशमशेरले एबरडिन कम्पनीलाई कतिवटा पुल जडान गर्न दिए भन्ने यकिन तथ्य नभए पनि ऐतिहासिक पुराना झोलुंगे पुलहरूको इतिहास खोतल्दै जाँदा ‘जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड’ को नाम राखिएको तथा उस्तै बनावटका सयौँ पुल भेटिएका छन् ।

काठमाडौँमा बाग्मती र विष्णुमती नदीमा, मर्स्याङ्दी नदीको विभिन्न ठाउँमा, कालीगण्डकी नदीको विभिन्न ठाउँमा, त्यस्तै तमोर, सुनकोसी, विजयपुर खोला, भेरी नदीमा पनि जोन एम हेन्डरसन एन्ड कम्पनी लिमिटेड लेखिएका फलामे झोलुंगे पुल थिए ।

सुरुमा नेपालका विभिन्न जिल्लामा स्थानीय कामीहरूले स्थानीय काँचो फलामका धाउहरू आरनमा गालेर आफ्नै मिहिनत र हातले बनाएका फलामका साङ्लाबाट आफ्नै बलबुताले झोलुंगे पुल बनाउने गरेको इतिहास भेटिन्छ । अझै पनि यस किसिमका फलामे साङ्लाबाट बनाइएका पुल विभिन्न स्थानमा भेट्न सक्छौँ । पछि सन् १९६० र ७० को दशकमा स्विस तथा अमेरिकी सहयोगमा आधुनिक पुल बने ।

माथिको तस्बिर तातोपानीमा कालीगण्डकी नदीमा बनाइएको झोलुंगे पुलको हो । तिब्बतबाट विभिन्न मरमसला, नुन तथा ऊनका सामग्रीहरू काठमाडौँसम्म पुर्‍याउने गरिन्थ्यो । ती सामग्रीहरू ओसार्न पनि कालीगण्डकीको यो पुल निकै महत्वपूर्ण थियो । साथै मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने तीर्थयात्रीहरूका लागि पनि यस पुलको निकै महत्व थियो ।