बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, १५ अर्ब बढीको भौतिक क्षति

बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु, १५ अर्ब बढीको भौतिक क्षति


मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति आएको बाढीले पुर्‍याएको क्षति ।

काठमाडौं ।

मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्यांगबाट ७३ जनाको ज्यान गएको छ ।

मनसुन अवधिमा १ सय २ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका १३५ ठाउँमा बाढी, ४२९ ठाउँमा पहिरो तथा ८३ वटा चट्यांगका घटना भएका थिए ।

उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, ७ घाइते र २१ बेपत्ता भएका थिए । यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र ९ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। भारी वर्षाका कारण २ जनाको ज्यान गयो भने चट्यांगबाट २१ जनाको मृत्यु र ४३ घाइते भए ।

यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ .७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै ८ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ ।

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्यांक छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुंगे पुल बगाउँदा करिब ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा ९ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ ।

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए । यस अवधिमा चट्यांग लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट ५ र लेदोसहितको पहिरो खस्दा ८ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका २३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।