नेपालले २ महिनामा भारतलाई बेच्यो ५ अर्बको विजुली

नेपालले २ महिनामा भारतलाई बेच्यो ५ अर्बको विजुली


काठमाडौं ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात गरेको छ ।

२ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत निर्यात भएको हो ।

साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत बिक्री दर क्रमशः ३ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ ।

यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।