३ महिनादेखि ग्राउण्डेड न्यारोबडी जहाजमा प्राविधिक समस्या, १ अर्ब आम्दानी गुम्याे

३ महिनादेखि ग्राउण्डेड न्यारोबडी जहाजमा प्राविधिक समस्या, १ अर्ब आम्दानी गुम्याे


काठमाडौं।

नेपाल वायु सेवा निगमको ३ महिनादेखि ग्राउण्डेड न्यारोबडी जहाजमा इन्जिन जडानका क्रममा प्राविधिक समस्या आएको छ।

जसका कारण उक्त न्यारोबडी जहाज शुक्रबारदेखि उडान गर्ने निगमको योजना तुहिएको छ।

इजरायल लगेर भाडाको इन्जिन जडान गर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएको हो। ‘उताका प्राविधिकले इन्‍जिन जडान गर्दा नुमेटिक लाइनमा असर परेको छ। यसको छुट्टै मर्मत सम्भार गर्नुपर्ने भएको छ’ निगमका एक कर्मचारीले भने।

उनका अनुसार मर्मत नगरी इन्जिन जडान गर्न मिल्दैन। मर्मतका लागि कति समय लाग्छ भन्ने जानकारी कम्पनीले गराएको छैन। जडानका लागि मात्र ८ घण्टा लाग्ने ती कर्मचारीले बताए।

निगमले तीन महिनासम्म मर्मत नगरी थन्क्याएको जहाजमा एक साताअघि भाडाको इन्जिन जडानको निर्णय गरेको थियो।

मर्मतको ठेक्का दिइएको र भाडाको इन्जिनका लागि सम्झौता गरिएको कम्पनी भने एउटै हो। इजरायलको इजरायल एरोस्पेस इन्डस्ट्रीलाई भाडाको इन्जिन जडान गर्न लगाएर जहाज शुक्रबारदेखि नियमित उडान गर्ने भनिएको थियो। जहाज ३ महिनादेखि ग्राउण्डेड हुँदा निगमले १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाइसकेको छ।