‘बाहुन’को टुप्पी काट्न र मन्दिरमा पिसाब फेर्न लगाउने प्रचण्डको यो रूप

‘बाहुन’को टुप्पी काट्न र मन्दिरमा पिसाब फेर्न लगाउने प्रचण्डको यो रूप

भैँसी पूजादेखि कैलाश यात्रासम्म पुग्दा प्रचण्ड बदलिएका छन् !


काठमाडौँ ।

२०५२ साल माघ १ गतेदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धमा सबैभन्दा बढी सांस्कृतिक तथा धार्मिक क्षेत्र पिल्सिए । यसको नेतृत्व गरेको थियो– तत्कालीन नेकपा माओवादीले । र, त्यसको नेतृत्वमा थिए अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

यो समयमा कति ब्राह्मणको टुप्पी काटियो, त्यसको लेखाजोखा नै छैन । हिन्दुहरूको आस्थाको केन्द्र मन्दिरमा त माओवादीहरूले पिसाब नै फेरिदिए । संस्कृत भाषाको पठनपाठन प्रभावित बनाइनुका साथै मन्दिरका पुजारीमाथि कुटपिट पनि गरियो । विशेष गरी हिन्दु धर्ममाथि एक प्रकारले धावा नै बोलियो ।

१० बर्से लामो सशस्त्र युद्धको समाप्तिपछि पनि प्रचण्ड र उनका लावा लस्कर हिन्दु धर्मप्रति नकारात्मक नै देखिए । यसको परिणाम विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल अहिले धर्म निरपेक्षतामा परिणत भएको छ । धर्ममा निरपेक्ष बन्न खोजेका प्रचण्ड आफ्ना आसेपासेलाई निरपेक्षको अर्ती दिँदै हिँड्छन् । तर, उनी स्वयं भने निरपेक्षभन्दा ‘धोतीपाटा’ नै बढी मन पराउँछन् ।

शान्ति प्रक्रियाकै बेला व्यापारी अजयराज सुमार्गीको पहलमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यसँग आशीर्वाद लिन गोल्फुटारको एक आश्रममा पुगेका थिए प्रचण्ड । देशको पहिलो राष्ट्रपति बन्न आशीर्वाद मागेका उनले त्यसबेला गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री बन्ने मौका पनि पाए ।

हिन्दु धर्मलाई ‘बकवास’ ठान्ने प्रचण्ड आफ्ना लागि केही भइहाल्छ कि भन्ने छुद्र आसमा त्यही धर्मको आड लिन भने कहिल्यै पछि परेनन् ।

सशस्त्र युद्धमा धर्म निरपेक्षताको पथलाई अबलम्बन गरेका उनी सत्ताका लागि भने साधुकै चरणमा परे । सायद कुनै साधुको चरणमा दण्डवत् गरेको उनको यो पहिलो उदाहरण पनि थियो ।

मन्दिर बनाउनु र मूर्ति पूजा गर्नु अर्थहीन देख्ने उनको बोली र व्यवहारमा सधैँ फरक देखियो । यस विषयमा अनेक उदाहरण दिएर आफूलाई पन्छाउन पनि उनी पछि परेनन् ।

प्रधानमन्त्रीबाट राजीनामा दिएको करिब ९ महिनापछि अर्थात् २०६६ साल माघ २९ गते सुनसरी पुगेका प्रचण्डले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको सल्लाहमा ग्रहशान्ति हुने भन्दै भैँसी पूजा पनि गर्न भ्याए । तत्कालीन माओवादीका अध्यक्ष हुँदा भैँसी पूजा गरेका उनको त्यतिबेला निकै आलोचना पनि भएको थियो ।

हिन्दु धर्मलाई ‘बकवास’ ठान्ने प्रचण्ड आफ्ना लागि केही भइहाल्छ कि भन्ने छुद्र आसमा त्यही धर्मको आड लिन भने कहिल्यै पछि परेनन् ।

निधारभर चन्दन घसेर महाकाललाई १०८ रुद्राक्ष चढाएर फर्किएका उनले पशुपतिमा महाकालबाट ल्याएको जल विसर्जन गर्न पनि भ्याए ।

पछिल्लो पटक प्रधानमन्त्री बन्दा त उनी हिन्दु धर्मप्रति यति नतमस्तक भए कि प्रधानमन्त्री निवास बालुवाटार सर्न पनि ज्योतिषीकै सल्लाह लिए । प्रचण्डको परिवारबाट आफूलाई बालुवाटार प्रवेशको साइत जुराउन आग्रह भएबमोजिम नै आफूले समय तय गरिदिएको भनेर ज्योतिष टीकाराम घिमिरेले प्रतिक्रिया नै दिएका थिए ।

त्यति मात्र होइन, गत निर्वाचनका बेला पनि निर्वाचन क्षेत्र छनोट गर्न उनले ज्योतिषकै सल्लाह लिएको भन्ने हल्ला निकै चलेको थियो । भलै यसको पुष्टि भने भएको छैन । तर, हिन्दु धर्मप्रति उनको बढ्दो झुकावले त्यसो नहोला पनि भन्न सकिन्नँ ।

निर्वाचनअघि प्रचण्ड चितवनमा घर सरेका थिए । त्यस समयमा पनि भव्य बाजागाजासहित उनको घर सराइमा धुमधामका साथ पूजापाठ गराएका थिए ।

सशस्त्र युद्धताका सांस्कृतिक रूपान्तरणका नाममा हिन्दु धर्मप्रति आक्रमण गर्ने निर्देशन दिएका उनी प्रधानमन्त्री बनेपछि गत जेठमा भारतको भ्रमणमा निस्किएका बेला आफूलाई ‘दाहाल बाहुन’कै रूपमा प्रस्तुत गरे । कम्युनिस्टको ठप्पा लगाएर नेपालीलाई उल्लु बनाउँदै आएका प्रचण्ड एकाएक धोती पाटोमा भारतको उज्जैनस्थित महाकाल भगवानको दर्शन गर्न पुगे ।

नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष बनाएर भारतमा हिन्दु धर्मप्रति नतमस्तक भएका उनले धुमधामसित पूजाआजा नै गरे । निधारभर चन्दन घसेर महाकाललाई १०८ रुद्राक्ष चढाएर फर्किएका उनले पशुपतिमा महाकालबाट ल्याएको जल विसर्जन गर्न पनि भ्याए ।

हुन त उनले यसलाई भारतीय जनताको भावनालाई ख्याल राख्दै आफू महाकालको दर्शन गर्न गएको भनेर पन्छाइदिए । तर, सायद कुनै पनि भारतीयले उनलाई महाकालको दर्शन गर्नैपर्छ भनेर करकाप गरेनन् होला । आफ्नै देशको जनताले भनेको नमान्ने उनी भारतीय जनताले भनेको मान्ने मान्छे पनि होइनन् ।

छोरा र छोरी गुमाएका उनी अहिले आफ्नै पत्नी गुमाएको पीडामा पनि छन् । मनलाई शान्त बनाउनका लागि भए पनि धार्मिक स्थल पुगेको हुन सक्ने सतही अनुमान पनि लगाउन सकिन्छ ।

त्यतिबेला नै विवाद र चर्चामा तानिएका प्रचण्ड अहिले फेरि अर्को चर्चाका पात्र बनेका छन् । कारण हो, चीन भ्रमणमा रहेका उनको हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थल कैलाश मानसरोवरको यात्रा । यो विषयले त नेपालमा भन्दा पनि भारतमा बढी चर्चा बटुलिरहेको छ ।

३ महिनाकै अन्तरालमा हिन्दुहरूको प्रमुख २ तीर्थस्थलमा तीर्थाटन गरेका उनी निरपेक्षबाट सापेक्षको बाटोमा लागेको सहज आकलन गर्न सकिन्छ ।

२०७६ सालमा त उनले आफ्नी पत्नी सीता दाहाललाई आयुर्वेदिक उपचारका लागि भारतको हरिद्वारस्थित पतञ्जली योगपिठ आश्रममै पुर्‍याएका थिए । रामदेव बाबाको आश्रममा बसेर केही समय आयुर्वेदिक पद्धतिबाट सीता दाहालको उपचार पनि भयो ।

सरसर्ती हेर्दा प्रचण्ड अहिले निकै धार्मिक देखिएका छन् । त्यो पनि आफैँले बुर्जुवा भनेको हिन्दु धर्मप्रति । बहुसंख्यक हिन्दु धर्मावलम्बीको आवाजलाई दबाउँदै धर्मनिरपेक्ष देश बनाउन अहम् भूमिका खेलेका प्रचण्ड अहिले हिन्दु धर्मप्रति नै किन बढी झुकाव राख्छन् ? भन्ने प्रश्न उनीतर्फ नै तेर्सिएको छ ।

छोरा र छोरी गुमाएका उनी अहिले आफ्नै पत्नी गुमाएको पीडामा पनि छन् । मनलाई शान्त बनाउनका लागि भए पनि धार्मिक स्थल पुगेको हुन सक्ने सतही अनुमान पनि लगाउन सकिन्छ । तर, यसै भनिहाल्ने अवस्था पनि छैन ।

भारतीय नेतृत्व रिझाउन र भू–राजनीतिक माहोल तयार गर्नका लागि पनि उनको तीर्थाटन भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

तर, जे होस् प्रचण्ड बदलिएका छन् । कट्टर कम्युनिस्टबाट बाहिर निस्किने प्रयासमा उनी देखिन्छन् । हरेक ठुला समारोहदेखि विदेश भ्रमण र कूटनीतिक भेटघाटमा राष्ट्रिय पोसाक दौरा–सुरुवालमा देखिने उनी साँच्चिकै बदलिएका छन् । उनको बदलाव निश्चित स्वार्थका लागि हो वा अरू नै केही । त्यो त समयले नै बताउला ।