इन्धनको मूल्य बढेपछि विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज रोकियो, कम्बोडियामा २०० यात्रु अलपत्र

इन्धनको मूल्य बढेपछि विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज रोकियो, कम्बोडियामा २०० यात्रु अलपत्र


काठमाडौं । विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज पानीजहाजले इन्धनको असाध्यै उच्च मूल्यका कारण सेवा स्थगित गरेको छ । त्यसपछि त्यसमा सवार यात्रुहरू कम्बोडियामा अलपत्र परेका छन् ।

अमेरिकामा मुख्यालय रहेको ‘भिल्ला भि ओडिसी’ सञ्चालन गर्ने कम्पनीले यात्रुहरूलाई जहाजबाट ओराल्ने योजना र ‘अस्थायी बसोबासको व्यवस्था’ मिलाउन काम गरिरहेको जनाएको छ ।

जहाजमा कति यात्रु सवार थिए भन्ने स्पष्ट भएको छैन । तर करिब २०० मिटर (६५६ फिट) लामो उक्त जहाजमा ६५० जनासम्म यात्रु अटाउन सक्छन् । यो जहाज सन् २०२४ अक्टोबरमा बेलफास्टबाट ‘निरन्तर विश्व भ्रमण’ का लागि निस्किएको थियो ।

यस वर्षको सुरुवातमा इरान युद्ध सुरु भएयता विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ । जहाज सञ्चालक कम्पनीका अनुसार एसियाका केही क्षेत्रमा एउटा केबिनका लागि लाग्ने मासिक इन्धन खर्च १ हजार ८०० डलरबाट बढेर ८ हजार डलर (६ हजार पाउन्ड) सम्म पुगेको छ ।

कम्पनीले इन्धन खपत घटाउन ‘महत्त्वपूर्ण कदम’ चालेको जनाएको छ । यसमा यात्राको गति कम गर्ने र बन्दरगाहमा बढी समय बिताउने निर्णय पनि समावेश छ । तर, इन्धनको मूल्यमा भएको असाधारण वृद्धिलाई धान्न यी उपाय पर्याप्त भएनन् ।

“इन्धनको मूल्यमा भएको सम्पूर्ण वृद्धिको भार जहाजमा बसोबास गर्ने यात्रुमाथि थोपर्नु व्यावहारिक समाधान होइन,” कम्पनीले भनेको छ ।

कम्पनीले आगामी ६० दिन पुनर्संरचना र पुँजी पुनःव्यवस्थापनमा खर्च गर्ने जनाएको छ । तर, “कुनै पनि नतिजाको सुनिश्चितता छैन,” कम्पनीले स्पष्ट पारेको छ ।

जहाजमा सवार करिब २०० यात्रुलाई कम्बोडियाको बन्दरगाह सहर सिहानुकभिलमा ओर्लन निर्देशन दिइएको बताइएको छ । कुनै समय शान्त समुद्री तटीय सहरका रूपमा चिनिने सिहानुकभिल पछिल्ला वर्षमा ठगी केन्द्रहरूको प्रमुख केन्द्र बनेपछि विश्वभर चर्चामा आएको छ ।

कम्पनीको वेबसाइटअनुसार ‘भिल्ला भि ओडिसी’ को यात्रा साढे तीन वर्षसम्म चल्ने र करिब १५० देशमा पुग्ने अपेक्षा गरिएको थियो ।

जहाज मर्मत गर्नुपर्ने भएकाले यसको प्रस्थानमा पनि ढिलाइ भएको थियो । त्यसका कारण यात्रुहरू बेलफास्टमा महिनौँसम्म अलपत्र परेका थिए भने कम्पनीले लाखौँ पाउन्ड खर्च बेहोर्नुपरेको थियो ।

मङ्गलबार यात्रा स्थगित गर्ने घोषणा गर्नुअघि जहाजले विश्व परिक्रमा सुरु गरेको ७५० दिनभन्दा बढी बिताइसकेको थियो । यात्रा स्थगित भएपछि यात्रुहरू कम्बोडियामै अलपत्र परेका हुन् ।

कम्बोडियाबाट बीबीसीसँग कुरा गर्दै एक यात्रु होली हेनेसीले भनिन्, “धेरै समय बिताउने ठाउँको सूचीमा कम्बोडिया मेरो कल्पनामा पनि थिएन ।”

“हामी सबै फरकफरक होटलमा छौँ । म बसेको होटलमा पनि जहाजका केही सहयात्री छन् । हामी केवल पर्खिरहेका छौँ,” उनले भनिन् ।

कम्पनीको वेबसाइटअनुसार ‘भिल्ला भि ओडिसी’ मा विभिन्न बार तथा रेस्टुरेन्ट, पौडी खेल्ने डेक र पिकलबल खेल्ने कोर्टसमेत छन् ।

जहाजका केबिनमा स्थायी बसोबास गर्न १ लाख २० हजारदेखि ४ लाख ४० हजार डलरसम्म खर्च लाग्छ । ती केबिन मासिक ३ हजार ५०० डलरमा भाडामा पनि लिन सकिन्छ ।

गत वर्ष कम्पनीले मानिसहरूलाई अवकाशपछिको जीवन समुद्रमै बिताउन सक्ने गरी आजीवन आवास कार्यक्रम सुरु गरेको थियो ।

सन् २०२४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएको केही दिनपछि ‘भिल्ला भि रेसिडेन्सेस’ ले चार वर्षको ‘स्किप फरवार्ड’ प्याकेज घोषणा गरेको थियो ।

त्यतिबेला कम्पनीका प्रमुख कार्यकारीले फक्स बिजनेससँग कुरा गर्दै उक्त प्याकेजलाई “‘एक्सवाईजेड’ निर्वाचित भएमा देश छाड्छौँ भन्नेहरूका लागि उत्तम उत्पादन” भनेका थिए ।

हेनेसीका अनुसार विश्व बजारमा इन्धनको मूल्य बढ्दै गएपछि जहाजमा बसोबास गर्ने यात्रुहरूलाई यसअघि अतिरिक्त इन्धन शुल्क तिर्न विचार गर्न भनिएको थियो । साथै, उनीहरूको यात्रा योजनामा पनि “ठूलो कटौती” गरिएको थियो । त्यसपछि केही यात्रुले जहाज छाडेर स्थलमार्गबाट यात्रा गर्ने निर्णय गरेका थिए ।

तर हेनेसीजस्ता केही यात्रुले भने ‘भिल्ला भि ओडिसी’ चाँडै फेरि समुद्री यात्रामा निस्कने आशामा कम्बोडियामै बस्ने निर्णय गरेका छन् ।

“उनीहरूले हाम्रो यात्रा सकियो—पूर्ण रूपमा सकियो—भनेर नभन्दासम्म म हार मान्दिनँ । म यस्तो जीवनशैली फेरि कहिल्यै दोहोर्‍याउन सक्दिनँ । घर फर्कने कुरा? त्यो त निकै नीरस हुनेछ,” उनले भनिन् ।

“कम्बोडियामा केही समय बिताउनु त्यति नराम्रो पनि होइन ।”