काम नगर्नेलाई ठेगान लगाउँदै भरतपुर, १६ वटा ठेक्का अलपत्र पार्ने ७ कम्पनी ब्ल्याक लिस्टेड

काम नगर्नेलाई ठेगान लगाउँदै भरतपुर, १६ वटा ठेक्का अलपत्र पार्ने ७ कम्पनी ब्ल्याक लिस्टेड


चितवन ।

तोकिएको समयमा काम पूरा नगर्ने ७ वटा निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरूलाई कालोसूचीमा राखेको हो ।

जन कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, शिवालय बिल्डर्स, अनुष्ठान कन्स्ट्रक्सन, एकेज कन्स्ट्रक्सन, एन्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि निर्माणको जिम्मा लिएर काम सम्पन्न नगर्ने ती कम्पनीलाई कालो सूचीमा राखिएको हो । १६ वटा निर्माणको ठेक्का लिएका ७ कम्पनीलाई कालो सूचीमा राखिएको हाे ।

उनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्म कुनै पनि ठेक्का सम्झौता वा निर्माण कार्य गर्न नपाउने गरी कालो सूचीमा राखिएको इन्जिनियर आचार्यले बताए । ‘आव २०७७/७८ मा सुरु भएका ११ निर्माणका काम अझै पूरा हुन सकेका छैनन्,’ उनले भने, ‘आव २०७८/७९ मा २० वटा ठेक्का बाँकी छन् भने २०७९/८० मा १०५ निर्माणको ठेक्का सम्झौता भई सञ्चालनमा छन् ।’

चालु आवमा एउटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको छ भने ६ वटा ठेक्का सम्झौता तोड्ने अन्तिम चरणमा महानगर रहेको इन्जिनियर आचार्यले बताए । उनका अनुसार सम्झौता गरी काम नगरेका र सम्झौता गर्न नआएका निर्माण व्यवसायीको सम्झौता रद्द गर्न लागिएको हो ।

भरतपुर महानगरले भौतिक संरचना, सडक निर्माण, कल्भर्ट, सतह ढल, ढल निर्माण, मेस जालीलगायत काम गर्दै आएको छ । जसमध्ये ८० प्रतिशत सडक निर्माणको काम रहेको उनको भनाइ छ ।