मध्यबर्खामा छैन पानी : ४ भाँडो पानीले ३ दिन धान्नुपर्ने बाध्यता

मध्यबर्खामा छैन पानी : ४ भाँडो पानीले ३ दिन धान्नुपर्ने बाध्यता


धादिङ ।

धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ ।

पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ ।

यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ । गाउँभरिमा एउटै मात्र धारो छ । बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन् ।

टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन् । एक घरले बढीमा चार भाँडा मात्र पानी थाप्न पाउने नियम छ । जस्तोसुकै अवस्थामा होस् कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ ।

स्थानीय शेरबहादुर तामाङले भने, “सबैले ४ ४ भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ ।” उनका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन ।

जताततै पानीको छ्यालछ्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो ।

भौगोलिक हिसाबले सङ्घीय राजधानी काठमाडौँबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ । पानी, बत्ती र बाटो यी तिनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन् ।

शेरबहादुरले भने “मध्य बर्खामा पनि पानी पैँचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो । पैँचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौँ ।”

गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटा मात्रै धारा छ । “भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुङ्गो हुँदैन । धारामै पानी आए पनि धितमर्ने गरी पानी खान पाइदैन”, उनले भने, “खोलाको पानीलाई २ वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ । बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन ।” मेसिनको सहायताले धारामा ल्याइएको पानी ६ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी छ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताए ।

स्थानीय कविता तामाङका अनुुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्यांकी छ । “गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ । दैनिक ५ हजार लिटर पानी ट्यांकीमा जम्मा हुन्छ”, उनले भने, “५ हजार लिटर पानीले ६८ घरपरिवारले प्यास मेटाइरहेका छन् ।” एक घरले दैनिक अधिकतम ४ भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उनले जानकारी दिइन्।

माइक्रो हाइड्रो पावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताइन् । गाउँमा बिजुली बिग्रिएको बेला १ दिन थापेको ४ भाँडो पानीले २÷३ दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ । “त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो”, उनले दुःख सुनाए ।

‘एक घर एक धारा’ तीनै तहका सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन् । गत आर्थिक वर्षमा २ वटा ट्यांकी निर्माण गरी पानी ल्याउने योजना बनाइए पनि मुहानबाट ट्यांकीसम्म पानी पु¥याउन नसकिएको स्थानीय बताउँछन् ।

यस्तो छ योजना

‘फियान नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा बजेट माग्दै स्थानीय नगरपालिका गएपछि आर्थिक वर्ष २०७८/७९ मा खानेपानीका लागि ४० लाख बजेट विनियोजन भएको थियो । उक्त रकममा दुई वटा ट्यांकी निर्माण गरिएको छ । एउटा गाउँको सिरानमा र अर्को गाउँको बीच भागमा छ ।

आर्थिक वर्ष २०८०/८१ मा ६१ लाखमा पलभिस कन्ट्रक्सनले २ योजना निर्माणको जिम्मा पाएको थियो । गाउँको सिरानसम्म एउटै लिफ्टिङबाट सम्भव नभएपछि प्राविधिक सल्लाहअनुसार २ वटा लिफ्टिङ गरेर पानी तान्ने योजना बनेको ठेकेदार कम्पनीका प्रमुख सुनिल शर्माले जानकारी दिए । उनका अनुसार पहिलो लिफ्टमा बीचको ट्यांकीमा जम्मा गर्ने दोस्रो लिफ्टमा बीचको ट्यांकीबाट सिरानको ट्यांकीमा हालेर गाउँमा वितरण गर्ने योजना छ ।

यसै वर्ष खोलाको पानी ५० हजार लिटर संकलन गरी ट्यांकीमार्फत गाउँसम्म पु¥याउने उद्देश्यले काम थालिएको प्रमुख शर्माले बताए । असारमै काम सक्नुपर्ने भए पनि वर्षामा भौगोलिक विकटता, निर्माण सामग्रीको अभावलगायत कारणले काम रोकिएको उनको भनाइ थियो । पानी तान्ने पाइप गाउँसम्म पुर्‍याइएको भन्दै उनले अब छिट्टै पुनः काम थाल्ने तयारी भइरहेको जानकारी दिए ।