अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा महत


काभ्रे ।

अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भने।

३ वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै २ चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड बिस्तारकार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७.२ किमिमा ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने “उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ”, उनले भने ।

मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, “विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।” उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो ।

मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए ।

यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे ।