हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत


काठमाडौं ।

उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित कोरीयाली सहयोगमा नेपालमा बन्न लागेको माथिल्लो त्रिशुली एक हाइड्रो पावर प्रोजेक्टको आधारशीला निर्माणको शुभारम्भ कार्यक्रममा उनले, नेपाल दिगो विद्युत उत्पादनमा प्रतिबद्ध रहेको बताए ।

भारतले नेपालमा उत्पादीत विद्युत खरिदका लागि प्रतिवद्धता जनाइसकेको र बंगलादेशले पनि चासो देखाएकोले नेपालको हाइड्रो प्राजेक्टको सम्भावना बलियो रहेको उनले बताए ।

उनले माथिल्लो त्रिशुली एक निर्माणको काम तोकिएको समयमै सकिने विश्वास व्यक्त गर्दै अहिलेसम्मको प्रगतिप्रति खुसी व्यक्त गरे ।उनले नेपालमा लगानी गरेकोमा कोरीयाली लगानीकर्तालाई धन्यवाद दिदैँ आवश्यक सहयोगका लागि सरकार सदैव तयार रहेको बताए ।

त्यस्तै थप लगानीका लागि आग्रहगर्दै सरकार लगानीको सुरक्षाका लागि आवश्यक कुराहरु पुरा गर्न तयार रेहेको बताए ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।