विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान, ‘कति खेर बत्ती जान्छ टुंगो हुदैन’

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान, ‘कति खेर बत्ती जान्छ टुंगो हुदैन’


रुकुम ।

रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् ।

बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । “कति खेर बत्ती जान्छ टुङ्गो हुदैन ।

“आउने जाने बत्तीका कारण हामी आजित भइसकेका छौँ”, स्थानीयवासी गणेश केसीले भने, “कहिले बत्ती आउने जाने हुन्छ त कहिले आउँदै आउदैन”, उनले भने । बत्तीका कारण कतिपय काम गर्न निकै गाह्रो हुने गरेको स्थानीय विजुलीका सामान व्यापारीको पनि गुनासो थियो ।

“विद्युत्बाट हुने काम कति धेरै छन् । ती काम गर्न निकै गाह्रो छ । ग्राहक काम लिएर आएका हुन्छन् । बत्ती छैन भनेर पठाउनुपर्छ”, व्यापारी प्रेम खत्रीले भने । आउने जाने बिजुलीका कारण सरकारी कार्यालयलाई पनि सेवा दिन समस्या भएको छ । जिल्ला अस्पताल सल्ले, जिल्ला प्रशासन कार्यालयलगायत ठाउँमा विद्युत् नहुँदा सेवा दिन मुस्किल भएको कार्यालयको भनाइ थियो ।

रुकुम पश्चिम र पूर्वका लागि सल्यानको शीतलपाटीदेखि धैरेनीचौर र जाजरकोटको कुदुदेखि धैरेनीचौरसम्म विद्युत् आपूर्ति हुँदै आएको छ । अहिले त रुकुम पूर्वमा रहेको रुकुमगाडको विद्युत् पनि सवस्टेसनमै जोडिएको छ । ३३÷११ केभी र ३ एमभीए क्षमताको विद्युत् सवस्टेसन तयार भएपछि जिल्लामा विद्युत् अनियमितको समस्या कम हुन्छ भन्ने आसमा रहेका उपभोक्ता आउने जाने विद्युत्का कारण हैरान भएका हुन् ।

धैरेनीचौरमा सवस्टेसन निर्माण नहुँदै यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो । अहिले भने ३३ केभी क्षमताको विद्युत् प्रवाह भएको भनिएको छ तर विद्युत् आपूर्ति भने नियमित छैन ।

३३ केभी प्रसारणलाई सबस्टेसनभित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाइएको नेपाल विद्युत् प्राधिकरण शेरीगाउँ वितरण केन्द्रले जनाएको छ । “यो बत्ती आउने र जाने भइरहने स्थानीयस्तरको समस्या होइन । जिल्लामा विद्युत्लाइन बिग्रिए र सबस्टेसनमा केही समस्या आएमा हामीले तत्काल मर्मत गरेका छौँ ।”, केन्द्र प्रमुख शिवजिप्रसाद साहले भने । हापुरे सवस्टेसन र कुदु सवस्टेसनबाट नै बेला–बेलामा लाइन जाने गरेको उनको भनाइ थियो । आइपर्ने समस्या समाधान गर्दै आए पनि विद्युत् आपूर्ति हुने ठाउँबाटै बत्ती नआएको प्रमुख साहले बताए ।