‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको शिलान्यास

‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको शिलान्यास


काठमाडौं ।

कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ ।

आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गर्नुभएको हो ।

काठमाडौँ उपत्यकाबाट करिब ७० किलोमिटर दुरीमा रहेको २१६ मेगावाट क्षमताको सो आयोजना निर्माण आगामी सन् २०२६ सम्ममा सम्पन्न गरिसक्ने आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लक्ष्य छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा स्थानीय लगानीकर्ताको १० प्रतिशतबाहेक सबै स्वामित्व तथा ऋण विदेशीकै रहेको छ ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी १९ करोड ४२ लाख अमेरिकी डलर रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

आयोजनाका लागि रसुवाको आमाछोदिङमो गाउँपालिकाको हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायतका संरचना बन्ने छन् ।

बर्सातको अन्त्यसँगै बाँध संरचना निर्माण थाल्ने जनाइएको छ ।