चिनजान पनि गर्न नपाई हाकिमको सरुवा, कसरी हुन्छ काम ?

चिनजान पनि गर्न नपाई हाकिमको सरुवा, कसरी हुन्छ काम ?

बेलकामा डेढ वर्षमा ५ पटक फेरिए प्रशासकीय अधिकृत


काठमाडौँ ।

उदयपुरको बेलका नगरपालिकामा पटक–पटक हाकिम (प्रमुख प्रशासकीय अधिकृत) फेरिँदा कार्यसम्पादनमै असर परेको छ ।

पालिकाको दोस्रो कार्यकालमा यहाँ कुनै पनि हाकिम ६ महिनाभन्दा बढी टिक्न सकेका छैनन् । पछिल्लो पटक त १ महिनामै हाकिमको सरुवा भयो । उनले काम गरेको दिन गन्ने हो भने २ हप्ता पुगेकै छैन । सोझो हिसाबमा भन्ने हो भने जनप्रतिनिधि र पालिकाका अन्य कर्मचारीसँग चिनजान नै हुन नपाई उनी सरुवा भए ।

गत साउन ३२ गते दशरथ राई प्रशासकीय अधिकृत भएर बेलका आएका थिए । भदौ ३१ गते उनी सरुवा भएर धनकुटा नगरपालिका गइसकेका छन् ।

राईको सरुवा भएको विषयमा बेलकाका सूचना अधिकारी चेतनाथ गौतमलाई जिज्ञासा राख्दा आफू तालिममा भएकाले त्यति धेरै कुरा थाहा नभएको बताए । ‘म अहिले तालिममा आएको छु,’ गौतमले भने, ‘उहाँ(राई) सरुवा हुनुभयो रे भन्ने सुनेको हो, तर मैले आधिकारिक रूपमा भन्न सक्दिनँ ।’

दशरथ राईले आफ्नो सरुवा धनकुटा नगरपालिकामा भएको बताए । छिटै सरुवा भएर जानुपर्दा बेलकामा केही काम गर्नै नपाएको राई बताउँछन् । ‘काम सुरु गरौँ भन्ने थियो,’ दशरथले विकास टाइम्ससँग भने, ‘तर, काम सुरु गर्नै नपाई सरुवा भयो ।’

यसरी छोटो समयमै हाकिम परिवर्तन भएको यो पहिलो घटना भने होइन । गत स्थानीय तहको निर्वाचनपछि बेलकामा हाकिम टिक्नै सकेका छैनन् । गत निर्वाचनबाट अशोक कार्की मेयरमा विजयी हुँदा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला थिए । तर, कार्की आएको ४ महिनापछि अर्थात् भदौमा निरौला बेलकाबाट बिदा भएर अन्यत्र गए ।

निरौला गएपछि रामप्रसाद वाग्ले प्रमुख प्रशासकीय अधिकृत भएर आए । तर, असोजमा आएका वाग्ले ६ महिनापछि अर्थात् चैतमै अन्यत्र सरुवा भए ।

चैतमै अर्का प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम बेलका आए । गौतम अझ ४ महिना मात्र बसे । अर्थात् २०८० साउन ३२ गते सरुवा लिएर गए । सोही दिन दशरथ राई प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए । तर, उनी पनि अहिले सरुवा लिएर गइसकेका छन् ।

राईको आगमनमा पालिकाका जनप्रतिनिधि खासै सन्तुष्ट नभएको स्रोत बताउँछ । तर मेयर कार्की भने दशरथ राईसँग आफूहरू असन्तुष्ट नरहेको दाबी गर्छन् । केही दिन राईसँग काम गर्दा पनि राम्रोसँग काम गरेको कार्कीको भनाइ छ ।

‘उहाँ(दशरथ)लाई धेरै विवादमा ल्याएका कारण उहाँले सरुवा लिएर जानुभएको हो,’ कार्कीले भने, ‘उहाँ एकदम सोझो मान्छे, उहाँले यहाँ डेरा पनि लिनुभएको थिएन, सुरुमै विवादमा तानिएपछि अन्यत्र जाने मनसाय बनाएको हुनुपर्छ ।’

आफूसँग पनि राईले ‘विवादमा तानेका कारणले सरुवा भएको’ बताएको जनाए । ‘मसँग पनि उहाँ(दशरथ)ले मलाई आउनेबित्तिकै विवादमा तानियो, त्यो भएर मेयरसा’ब म अन्त जान्छु भन्नुभएको थियो,’ उनले भने ।

अब बेलकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुरुषाेत्तम घिमिरे आउने भएका छन् । तर, उनी पनि कति दिन टिक्ने हो, यसै भन्न सकिने अवस्था नरहेको बेलकाकै एक कर्मचारी बताउँछन् ।

कर्मचारी र जनप्रतिनिधिको द्वन्द्वका कारण पालिकामा काम नै नहुने अवस्था आएपछि छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नुपरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई बताउँछन् ।

दशरथ राईलाई बेलकाकी उपप्रमुख जिरा राईले पावर लगाएर हाकिमको रूपमा ल्याएको चर्चा चलेको थियो । जिरा एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन् । अब आउने भनिएका प्रमुख प्रशासकीय अधिकृत मेयर कार्कीले आफ्नो पावर लगाएर ल्याएको चर्चा छ । मेयर कार्की कांग्रेसबाट निर्वाचित हुन् ।

यता, मेयर र उपमेयर दुवैले आफूले त्यसरी प्रमुख प्रशासकीय अधिकृत नल्याएको बताउँदै आएका छन् । हाकिम संघीय सरकारले पठाउने भएकाले आफूहरूले ल्याएको भन्नु विवादका लागि भनिएको उनीहरू बताउँछन् ।

उपमेयर राईले अब आउने अधिकृतले मेयरको मात्र काम गरे ठिक नहुने चेतावनी समेत दिएकी छिन् । ‘अब आउने अधिकृतज्यूले नियमसंगत काम गरे मेरो समर्थन रहन्छ,’ उपमेयर राईले विकास टाइम्ससँग भनिन्, ‘यदि मेयरको मात्र कुरा सुन्ने, मेयरको मात्र काम भयो भने राम्रो हुँदैन ।’

मेयर र उपमेयर मिल्न नसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएको बेलका–८ का वडाध्यक्ष जयकुमार राईको आरोप छ । ‘मेयर–उपमेयरमा एकरूपता नआउँदा पनि यस्तो (प्रमुख प्रशासकीय अधिकृत छिटो–छिटो परिवर्तन) भएको हो,’ राईले विकास टाइम्ससँग भने, ‘दुर्गा दाइ (निर्वतमान मेयर दुर्गाकुमार थापा ‘स्वस्ति’) हुँदा यस्तो थिएन, उहाँले सबैलाई मिलाएर लग्नुभएको थियो ।’

वडाध्यक्ष राईका अनुसार मेयरले राम्रो नेतृत्व गर्न नसकेका कारणले प्रमुख प्रशासकीय अधिकृत छिटो परिवर्तन हुने गरेको आरोप छ । ‘नेतृत्व (मेयर कार्की) राम्रो भएन,’ जयले भने, ‘उहाँले सबैलाई मिलाएर लान सक्नुपर्थ्यो, तर सक्नुभएन ।’

छिटो–छिटो प्रमुख सरुवा गरेर नेपालको संविधानमै खेलबाड गरेको बेलका–१ का वडाध्यक्ष दिनेश्वरप्रसाद चौधरी बताउँछन् । ‘के कारणले यसरी अधिकृत परिवर्तन हुन्छन्, हामीले त बुझ्न सकेका छैनौँ,’ चौधरीले भने, ‘कम्तीमा एउटा आर्थिक वर्ष बस्नुपर्ने हो, त्यो पनि पाइँदैन, यहाँका नेताले आफूखुसी गरेर नेपालको संविधानमै खेलबाड गरिरहेका छन् ।’

छिटो–छिटो हाकिम परिवर्तन हुँदा नगरकै बेइज्जत भएको बेलका–४ का वडाध्यक्ष तीर्थराज अधिकारी बताउँछन् । ‘के कारणले यति छिटो हाकिम परिवर्तन भएको हो म अनभिज्ञ छु,’ अधिकारीले भने, ‘यस्तो हुँदा बेलकाको बेइज्जत भयो ।’

कर्मचारीहरू आफैँ मिल्न नसकेर पनि हाकिम टिक्न नसकेको बेलका–५ का वडाध्यक्ष दीपराज रेग्मी बताउँछन् । ‘विगतका केही प्रशासकीय अधिकृतज्यूहरूले मेयर–उपेयरमा पनि फाटो ल्याउने काम गर्नुभयो,’ रेग्मीले भने, ‘कर्मचारीमा पनि ३ ग्रुप छन्, उहाँहरू आफू पनि मिल्न सक्नुभएको छैन ।’

हाकिम नहुँदा भुक्तानीमा समस्या : वडाध्यक्षहरू

प्रमुख प्रशासकीय अधिकृत आउन नपाई सरुवा भएर जाँदा वडाले पाउनुपर्ने भुक्तानी नपाएको वडाध्यक्षहरूको गुनासो छ । ‘काम सम्पन्न भएको भुक्तानी दिन पाएको छैन,’ बेलका–४ का अध्यक्ष अधिकारी भन्छन्, ‘भुक्तानी दिन नसक्दा नयाँ काम पनि थालनी भएको छैन ।’ यस्तै समस्या रहेको बेलका–५ का वडाध्यक्ष रेग्मीको भनाइ छ । ‘भुक्तानी हुन नसकेर समस्या भयो,’ रेग्मीले भने ।

हाकिम नहुँदा योजना कार्यान्यवनमा समेत समस्या भएको बेलका–८ का वडाध्यक्ष जयकुमार गुनासो गर्छन् । कार्यकारी प्रमुख नहुँदा थुप्रै काममा अप्ठ्यारो पर्ने गरेको बेलका–१ का वडाध्यक्ष चौधरी बताउँछन् । ‘योजना अनुगमन गर्दा समेत समस्या पर्ने गरेको छ,’ चौधरीले भने ।

काम गर्ने वातावरण छैन : कर्मचारी

बेलकामा कर्मचारीले काम गर्ने वातावरण नभएको नगरमा कार्यरत कर्मचारीहरू बताउँछन् । साउन–भदौमा धेरै काम हुनुपर्ने भए पनि केही काम नभएको कर्मचारीहरूको भनाइ छ ।

‘बेलकामा फेसबुकमा देखाउनलाई त धेरै काम भएको छ,’ पालिकामा कार्यरत एक कर्मचारी भन्छन्, ‘तर, वास्तवमा केही पनि काम भएको छैन ।’ बेलकाका कर्मचारीहरू पालिकामा काम गर्न जाने भन्दा अन्यत्र नै जान पाए हुन्थ्यो भन्नेमा छन् । ‘सरहरू (कर्मचारी) काममा आउन भन्दा पनि छुट्टी लिएर बस्न, तालिममा जान मन गर्नुहुन्छ,’ ती कर्मचारीले विकास टाइम्ससँग भने, ‘अहिले बेलकाको माहोल यस्तो छ, कोही पनि कर्मचारी काम गर्न जाँगर चलाइरहेको छैन ।

आफूहरूले मेयर कार्कीलाई कामका विषयमा सल्लाह दिँदा पनि मेयरले नसुन्ने गरेको कर्मचारीहरूको आरोप छ । मेयर कार्कीले परामर्श लिँदा समेत गलत व्यक्तिसँग लिएको उनीहरू बताउँछन् ।

‘सरहरू (अधिकृत)ले दोस्रो चोटि जितेर आएका वडाध्यक्षज्यूहरूसँग समन्यव गरेर काम गर्नु भनेर मेयरज्यूलाई सल्लाह दिनु भएको थियो,’ पालिकामा कार्यरत एक कर्मचारी भन्छन्, ‘तर मेयरसा’बले त्यो कुराहरू केही पनि सुन्नुभएन ।’

यस विषयमा जिज्ञासा राख्दा सूचना अधिकारी गौतमले ‘खासै समस्या’ नभएको भन्दै अस्पष्ट जबाफ दिए । ‘त्यस्तो साह्रो त यहाँ कुनै पनि समस्या छैन,’ गौतमले भने, ‘कोही साथीहरूलाई अप्ठ्यारो महसुस भएको पनि हुन सक्छ, तर त्यस्तो केही छैन ।’

यता, आफ्नै कारण नगरमा कर्मचारीलाई काम गर्ने वातावरण नभएको पुष्टि गर्न मेयर कार्कीले चुनौती दिए । ‘प्रमुख प्रशासकीयका बारेमा केही समस्या छन्,’ कार्कीले भने, ‘तर, कर्मचारीलाई काम गर्ने वातावरण भएन भन्ने कुरा सरासर गलत हो । कोही कर्मचारीले भनिदिनुस् कि मेयरको कारणले काम गर्ने वातावरण छैन भनेर ।’

अख्तियारको त्रास देखाएर कसैले कर्मचारीहरूलाई तर्साउने गरेको हुन सक्ने कार्कीले बताए । ‘अख्तियार लगाएर दु :ख दिने अनेक गिरोह सक्रिय छन्, त्यो भएर कसैले भन्नुभएको होला,’ कार्कीले भने, ‘तर, म त्यस्तो देख्दिनँ । त्यस्तो केही छैन ।’

छलफल गरे समाधान हुन्छ : पूर्वमेयर

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्यव हुन नसक्दा बेलकामा छिटोछिटो हाकिम परिवर्तन हुने गरेको पूर्वमेयर दुर्गाकुमार थापा बताउँछन् । ‘प्रमुख प्रशासकीय अधिकृत भनेको मेयरको प्रशासनिक सल्लाहकार हो,’ थापाले भने, ‘लेखा अधिकृत भनेको आर्थिक सल्लाहकार हो ।’

प्रशासनका कर्मचारीहरूसँग नियमित छलफल गरेमा त्यस्तो समस्या नआउने थापाको भनाइ छ । ‘मेयरले कम्तीमा १० दिनमा एक चोटि उप–प्रमुख, प्रशासनका प्रमुख, लेखा अधिकृतसँग बैठक बस्नुपर्छ’, थापाले भने, ‘त्यो बेला समस्या के छ ? त्यसलाई कसरी समाधान गर्ने भनेर छलफल गर्नुपर्छ ।’

मेयर कार्कीले यस्ता काम नगरेका कारण यस्तो समस्या आएको थापाको भनाइ छ । मेयरको आफ्नै भाइ नै हाकिम भएर आए पनि नियमविपरीत कुनै काम गर्न नहुने थापाको भनाइ छ ।

याे पनिः