हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड, कसरी हेर्ने ?

हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड, कसरी हेर्ने ?


काठमाडौं ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आइपिओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपिओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो ।

जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोला प्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकीले २० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो। कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आइपिओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड भएको हो ।

आइपिओको नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट  https://globalimecapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपिओको लागि संचालन गरेको वेबसाइट   iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । सिडीएसले थर्ड पार्टी एपहरूलाई आइपिओ नतिजा देखाउन पूर्ण रूपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आइपिओ नतिजा हेर्न सकिन्छ ।