महसुल नबुझाउने १८ सय ग्राहक कालोसूचीमा

महसुल नबुझाउने १८ सय ग्राहक कालोसूचीमा


वीरगन्ज ।

लामो समयदेखि विद्युत् महसुल नबुझाउने १ हजार ८२३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको हो ।

कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए ।

कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार ७६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।

लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९÷८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ ।

गत आव २०७८÷७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९÷८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ९ सय ६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६ सय १५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनीयर निर्मला फौजदारले बताए ।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार सात सय २४ राजस्व संकलन भएको इन्जिनीयर फौजदारले जानकारी दिए । आव २०७९÷८० मा २ हजार ४ सय ४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगन्ज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार २ सय ३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ ।