नगरप्रमुख यादवलाई ३ वर्ष कैद र १५ लाख जरिमाना

नगरप्रमुख यादवलाई ३ वर्ष कैद र १५ लाख जरिमाना


काठमाडौं ।

भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिमाना तोकिएको छ ।

विशेष अदालतले कसुर ठहर्याएपछि बुधवार उक्त सजाय सुनाएको हो ।

प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो ।

उनी स्थानीय निर्वाचनमा दोस्रो कार्यकालको लागि पनि चुनिएका थिए ।

लालबकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सङ्कलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो ।

एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपियाँ बिगो दाबी गरिएको यस मुद्दामा विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले पालिका प्रमुख यादवलाई मात्र दोषी ठहरको फैसला सुनाएको थियो ।