सम्मरीमाई गाउँपालिकामा खुल्याे कित्ताकाट

सम्मरीमाई गाउँपालिकामा खुल्याे कित्ताकाट


लुम्बिनी ।
सरकारले जारी गरेको भूमिसम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ ।

कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले इलाका मालपोत कार्यालय र इलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरु मर्चवारको मझगावास्थित इलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले हस्तान्तरण गरे ।

यससँगै रुपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोलि कार्तिक १४ गते मंगलबारदेखि खुल्ने भएकाे छ । गाउँपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाको सचिवालयले जनाएको छ ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछन् । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चाैधरीले जानकारी दिए ।

चौधरीले भने, ‘गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।’

गाउँपालिका अध्यक्ष विनोद श्रीवास्तवले गाउँपालिकामा आफ्नो क्षेत्राधिकारभित्रको जग्गा कृषि, व्यावसायिक र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी, खोला, ताल, सिमसार क्षेत्रतर्फ, सांस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।