घाइते खत्री सीमा नाकाबाट बेपत्ता

घाइते खत्री सीमा नाकाबाट बेपत्ता


बाँके ।

भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता भएका छन् ।

दाङ बङ्गलाचुली गाउँपालिका –४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल–भारत सीमा नाकाबाट बेपत्ता भएका हुन् ।

नेपाल–भारत सीमामा सुरक्षा जाँच गर्ने क्रममा बस रोकेका बेला शौच गर्न जान्छु भनी निस्किएका खत्री अहिलेसम्म सम्पर्कमा नआएको भन्दै परिवारले खोजी गरिदिन प्रहरीसँग आग्रह गरेको छ ।

खत्रीको साथमा मोबाइल नरहेको र निधारमा चोट लागेकाले पट्टी बाँधिएको परिवारले जनाएको छ ।

खत्रीका छोरा यादव खत्रीले लडेर टाउकोमा चोट लागेपछि पिताको मानसिक अवस्था ठिक नरहेकाले हराएको बताए । उनले भने, ‘टाउकोमा चोट लागेपछि बेला–बेलामा बुवाको मानसिक सन्तुलन बिग्रिने र केही छिनमै ठिक हुने, फेरि बिग्रने गरेको छ ।

‘माइलो बुवासँग घर फर्किदै गर्दा नाकामा हराउनुभएको हो, अहिलेसम्म भेटिनुभएको छैन, उहाँलाई खोजेर दाङसम्म पुर्‍याइदिन हुन विनम्र अनुरोध गर्दछु’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाँकेले खत्रीको खोजीका लागि जमुनाहा नाकालगायत जिल्लाका विभिन्न प्रहरी युनिटलाई फोटो पठाएर निर्देशन दिइसकेको जनाएको छ ।

नाकामा बस चेकजाँच भइरहेको बेला उत्रेका खत्री नेपालतर्फ नछिरेर भारततर्फ गएको आशङ्का प्रहरीले गरेको छ ।