थ्रेसर मेसिनमा परी रामगोपालकोे हात कुमदेखि चुँडियो

थ्रेसर मेसिनमा परी रामगोपालकोे हात कुमदेखि चुँडियो


बाँके ।

बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परी एक जनाको हात चुँडिएको छ ।

बैजनाथ गाउँपालिका–२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको हो ।

थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको वडा नं २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिए ।

हात काटिएपछि उपचारका लागि कोहलपुर दसबिघास्थित शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको र त्यहाँ उपचार सम्भव नहुने चिकित्सकले बताएपछि नेपालगञ्जस्थित वेष्टर्न हस्पिटल ल्याइएको थारुका आफन्त रतन थारुले जानकारी दिए ।

वेष्टर्न हस्पिटलमा पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।