सियारीमा तिहारमा प्लास्टिकका मालामा प्रतिबन्ध

सियारीमा तिहारमा प्लास्टिकका मालामा प्रतिबन्ध


भैरहवा ।

सियारी गाउँपालिका रुपन्देहीले तिहार, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपूर्वक रूपमा मनाउन पालिकाबासीलाई आग्रह गरेको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान चाड तिहार, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा आपसमा खुसी साटासाट गरी मनाउन आग्रह गरेको हो ।

चाडपर्वको समयमा पटाका, आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसारपसार गर्ने, जुवा तास खेल्ने खेलाउने, उच्छृंखल देउसी भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न तथा नगराउन पनि अनुरोध गरेको छ ।

पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारू र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने सम्भावना भएकाले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन पालिकाबासीमा अनुरोध गरिएको छ ।

यस्तै, सियारी गाउँपालिकाले तिहारलगायत चाडपर्वमा प्लास्टिकका फूलमाला तथा आयातित फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।