सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दाका लागि खुला गरेको आइपिओमा आवेदन दिने म्याद थप गरेको छ ।

स्थानीय बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वोत्तमले जारी गरेको आइपिओमा स्थानीय बासिन्दाबाट निर्धारित समय अर्थात माघ १० गते सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपिओमा आवेदन दिने म्याद भने आज अन्तिम हो । उनीहरुले बुधबार कार्यालय बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो ।

सर्वोत्तमले बुक विल्डिङ विधिबाट आइपिओ जारी गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।