काठमाडौं महानगरले सार्वजनिक स्थलमा २ हजार सेट डस्टबिन राख्ने

काठमाडौं महानगरले सार्वजनिक स्थलमा २ हजार सेट डस्टबिन राख्ने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ ।

उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् ।

महानगरपालिकाले कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।

यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् ।

यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० रुपैयाँ र डस्टबिन प्रतिसेट २ हजार ९ सय ५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुइटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ र बिनको ३ हजार ८ सय ९० रुपैयाँ हो ।

विभागका अनुसार यो मूल्य करबाहेक हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।

बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । यी सेट वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा राखिने छ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।