४ तलाबाट हाम फालेर रबिनाले गरिन् आत्महत्या, घरमा अचेत भेटिएका दुई बच्चाको पनि मृत्यु

४ तलाबाट हाम फालेर रबिनाले गरिन् आत्महत्या, घरमा अचेत भेटिएका दुई बच्चाको पनि मृत्यु


काठमाडौं ।

ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु भएको छ।

शनिबार अपराह्न महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको एक घरमा अचेत अवस्थामा फेला परेका दुई जना बच्चाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

उनका अनुसार ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको हो।

अपराह्न साढे ४ बजे उनीहरूकी आमा ३६ वर्षीया रबिना महर्जनले घरको चौथो तलबाट हाम फालेकी थिइन्।

उनी हाम फालेपछि स्थानीयले उद्धार गरी किस्ट अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू पनि अचेत अवस्थामा फेला परेका थिए।

उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

उनका श्रीमान घटना हुँदा घरमा थिएनन्। घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । ‘अहिले श्रीमान्सँग बयान लिनसक्ने अवस्था छैन, यद्यपि विभिन्न पाटोबाट अनुसन्धान थालेका छौं’, एसएसपी खनालले भने ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

यद्यपि बच्चाहरूको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।