जिल्लाकै सर्वोत्कृष्ट पालिका बन्यो बराहक्षेत्र

जिल्लाकै सर्वोत्कृष्ट पालिका बन्यो बराहक्षेत्र


सुनसरी ।
सुनसरीकाे बराहक्षेत्र नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा जिल्लामै सर्वाेत्कृष्ट घाेषित भएकाे छ ।

जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामध्ये बराहक्षेत्रले सबैभन्दा बढी अंक प्राप्त गरेको हाे ।

संघीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने ससर्त र नि:शर्त अनुदान बाँडफाँट गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बराहक्षेत्र नगरपालिकाले १०० पूर्णांकमा ९१ अंक प्राप्त गरेको छ ।

संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाले ७८.५० अंक प्राप्त गरेको छ भने सुनसरीकै धरान उपमहानगरपालिकाले ७१.५, रामधुनी नगरपालिकाले ७३, इटहरीले ८१.२५ अङ्क प्राप्त गरेको छ । गत वर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गरेको बराहक्षेत्र नगरपालिकाले यस वर्ष पनि उत्कृष्ट अंक हासिल गरेको हो ।

मूल्यांकनका विभिन्न १० वटा विषय क्षेत्रमा बराहक्षेत्र नगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अंक बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्लले बताए ।