नेपालमा पहिलाे पटक लेस्बियन जाेडीकाे विवाह दर्ता

नेपालमा पहिलाे पटक लेस्बियन जाेडीकाे विवाह दर्ता


काठमाडौँ

नेपालमा पहिलाे पटक लेस्बियन जाेडीकाे विवाह दर्ता भएकाे छ । याे दक्षिण एसियाकै पहिलो महिला समलिंगी जाेडी हाे ।

एकै उमेरका ३३ वर्षीया दिप्ती श्रेष्ठ र सुप्रिता गुरुङले दक्षिण एसियाकै पहिलो महिला समलिंगी जोडीका रूपमा कानुनी मान्यता पाएका हुन् ।

हालसालै नेपालबाट दक्षिण एसियाकै पहिलो महिला समलिंगी जोडीको रूपमा बर्दिया-२, जामुनी गाउँबाट उनीहरूले औपचारिक रूपमा विवाह दर्ता गरेका छन् । मायाको पहिचान नेपालको पहलमा उनीहरूको विवाह दर्ता भएको हो ।

यसअघि लमजुङको दोर्दी गाउँपालिका २ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेले दोर्दी गाउँपालिका–२ अर्चलबोटस्थित वडा कार्यालयमा पुगेर विवाह दर्ता गरेका थिए । यो नै समलिंगी विवाहलाई पहिलो मान्यता दिइएको उदाहरण थियो ।

गत जेठमा समलिंगी विवाहलाई वैधता दिन माग गर्दै नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङसहित सात जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै गत असार १२ मा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गरेको थियो ।