लघुवित्तका ऋणी संसद् भवन छिरेकोबारे छानबिन गर्न समिति गठन

लघुवित्तका ऋणी संसद् भवन छिरेकोबारे छानबिन गर्न समिति गठन


काठमाडौं ।

बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

मिटरब्याज पीडित संसद् भवन परिसरमा कसरी प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरे पनि चासो देखाएका थिए । उनले आईजीपी बसन्त कुँवरलाई फोन गरेर यसबारे जिज्ञासा राखेका थिए ।