लुम्बिनीमा टुंगिएयाे भागबण्डा : आजै मन्त्रिपरिषद् विस्तार हुने, ५ बजे शपथ

लुम्बिनीमा टुंगिएयाे भागबण्डा : आजै मन्त्रिपरिषद् विस्तार हुने, ५ बजे शपथ


बुटवल ।

लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ ।  चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

चैत २३ मा मुख्यमन्त्री नियुक्त हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जनालाई विनाविभागीय मन्त्रि बनाएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् ।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।

सरकारका प्रवक्ता दीपेन्द्र पुनले आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र सांझ ५ बजे शपथग्रहण हुने बताए । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री छन् । सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेले पाँच मन्त्रालय पाएको छ । जसमा अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्री मन्त्री बन्दैछन् ।

माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ । केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ । यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

त्यस्तै स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको शपथ लिने प्रवक्ता पुनले बताए । नेकपा एस पनि सरकारमा सहभागी हुन्छ या हुँदैन टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो ।