संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो । छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताए । बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए ।रमेश लेखक उनले भने,‘ उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका थिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले स‌सद अवरुद्ध गर्दै आइरहेको छ ।प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।