बालुवाटारमा सुरू भयो शीर्ष नेता र कार्यदलको बैठक

बालुवाटारमा सुरू भयो शीर्ष नेता र कार्यदलको बैठक


काठमाडौ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता छलफलमा जुटेका छन्। बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्। त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की कार्यदलका सदस्य जीवन परियार पनि सहभागी छन्।

नेकपा (एमाले)बाट कानून मन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णीम् वाग्ले र प्रमुख सचेतक सन्तोष परियार लगायत छन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ।

कार्यादेशमा भने कुरा मिलेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने भए सहकारीको रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्कका पदाधिकारीहरू लेखेर संसदीय समितिको क्षेत्राधिकार तय गर्नुपर्ने विकल्प पनि अघि सारेका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै बजेट वक्तव्य पेश गर्दासम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए।