नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स : महामन्त्री थापा

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा थापाले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताए । ‘वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर पठाएको रकमबाट नेपालको अर्थतन्त्र चलेको छ, मुलुकको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारमा गएका नेपालीको श्रम बनेको छ’, उनले भने ।

महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै ५ लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । थापाले २०४६ को परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालमा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि १० वर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे ।

वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने उनले विश्वास जनाए । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उहाँले व्यवसायीलाई थापाको आग्रह छ । तमु संघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने बताए । एसोसिएसनका नवनिर्वाचित अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायी र वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधानका निम्ति आफ्नो कार्यसमितिले काम गर्ने बताए ।

प्रथम उपाध्यक्ष विनोदजङ्ग केसीले वैदेशिक रोजगार व्यवसायीका लागि राख्ने बैंक ग्यारेन्टी ज्यादै महँगो भएको भन्दै यसलाई पुनरावलोकनमा जोड दिए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तार, कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, विभागका सदस्य राजेन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।