बजेटमा कांग्रेसको टिप्पणी- राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिइयो

बजेटमा कांग्रेसको टिप्पणी- राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिइयो


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए ।

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उहाँको दाबी थियो । प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखी बजेट ल्याउने काम गरिएको आरोप पनि लगाए ।

उनले भने- सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो । यहाँ खानेपानीको अत्यन्त समस्या छ । तराईदेखि पहाडसम्म नै समस्या छ । पानीका स्रोतहरू सुकेका छन् । अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ । सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहिँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनु भयो । कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो । यसरी विनियोजन गरिएको छ । जुन ठिक छैन । सभामुख महोदय, म के निवेदन गर्न चाहन्छु भने यो बजेटले धेरै कुरा नबोलीकन आफ्नो हिसाबले खर्च गर्ने बाटो लियो । त्यो बेठिक भइराखेको छ । यो बजेटले ठिक बाटो पक्रन सकेन ।

प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।