अर्थमन्त्रीले जोखिम उठाउनु भएको छ : विष्णु पौडेल

अर्थमन्त्रीले जोखिम उठाउनु भएको छ : विष्णु पौडेल


काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताएका छन् । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो ।

बजेटमाथि छलफलमा भाग लिँदै पौडेलले भने, ‘बजेट महत्वाकांक्षी होइन उच्च आकांक्षा राखेको छ । अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला ।’

मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले साढे तीन घण्टाको बजेटलाई छोट्याएर २ घण्टाको बनाएकोले बजेट सन्तुलित देखिएको उनले भने ।

उनले भने, ‘बाहिर मानिसहरूको चर्चा र आशंकाकै बीच १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको छ । यसको लागि स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन । तर, पनि सीमा निर्धारण गरेको छ । बजेटका सबै लक्ष्यहरू उच्च छ ।’

‘राजस्वले चालू खर्च धान्न नसकेको र ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्थामा उच्च आकांक्षा राखेर बजेट ल्याउनु अर्थमन्त्रीले जोखिम उठाउन खोज्नु हो’, पौडेलले भने ।

‘उपभोक्ता ठगिएको बेलामा उपभोक्ता अदालत गठन गर्न खोज्नु, बजेटले कृषि क्षेत्रमा लगानीको दशकको कुरा गर्नु र सुचना प्रविधिमा पनि लगानी दशकको पहिलो वर्षको रूपमा लिनु सकारात्मक हो । तथापि दुईवटैलाइ दशकको रईपमा घोषणा गर्दा कसलाई प्राथमिकता दिने भन्ने यकिन हुनुपर्छ’, पौडेलले भने ।

पालिकास्तरको डाउनटाउन र वडास्तरको पार्क बनाउने कुरामा संघीय सरकार बोल्न नहुने उनले बताए ।