भारतमा तेस्रो पटक प्रधानमत्रीको कुर्सीमा मोदी

भारतमा तेस्रो पटक प्रधानमत्रीको कुर्सीमा मोदी


काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । कांग्रेस नेतृत्वको विपक्षी इण्डिया गठबन्धनले २३१ सिट जितेको छ ।

भाजपा एक्लैले बहुमत प्राप्त गर्न सकेन । भाजपाले मात्रै २४० सिट जितेको छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो ।

सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेसले ९९ सिट जितेको छ । समाजवादी पार्टीले ३७ सिट जितेको छ । त्रिणमुल कांग्रेसले २९ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्नेछ । तर कुनै पनि दलले एकल बहुमत छैन ।

यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।

मोदीले नेहरुसँग बराबरी गर्दै

मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् । मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।

नयाँ संकल्पका साथ अघि बढ्ने छौं : माेदी

भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीए माथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । ‘म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’